काठमाडौँ । जुम्ला सदरमुकाम खलङ्गा नजिकैको एक बौद्ध गुम्बा पछाडि सानो काठको टहरामा ८३ वर्षीया वृद्धा गाँस बासको खोजीको सहारामा भौतारिएको अवस्थामा भेटिएकी छन्।
पत्रकारको टोली त्यहाँ पुग्दा सोही गुम्बामा बस्ने पुजारीले उनको अवस्थाको जानकारी दिएका हुन्। पुजारीले साहाराविहीन व्यक्ति खान, बस्न पनि समस्या भएको बताए। महिला बोल्न हिचकिचाइरहेकी थिइन्। केही छिनमा उनलाई बाहिर बोलाएर गुम्बा अगाडि उनको परिचय र अवस्थाका बारेमा जानकारी लिन खोज्दा ८३ वर्षीया ज्येष्ठ नागरिक महिलाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको कुरा खुल्न आएको हो। मुगुको डोल्पु स्थायी ठोगाना बताउने महिला वर्षौंदेखि बास र गाँसको खोजीमा भौतारी रहेकी छन्।
जुम्ला सदरमुकाममा चार वर्षदेखि माग्दै हिँड्ने गरेकी र अन्तिममा बस्ने व्यवस्था कतै नभएपछि उनी गुम्बाको आश्रयमा गएर ओत लिइरहेकी छन्। नाम साङ्गे फटिङ बताउने ती महिलाले २० वर्षदेखि जुम्लाको चौधबिस क्षेत्रमा बसेर साहाराविहीन भएपछि जीवन जिउन सदरमुकाम आएको बताइन्। उनले भने, “चौधबिसको खालाढिकमा विवाह गरेको तर श्रीमान् र छोरा दुवैको मृत्यु हुँदा आफू एक्लिएपछि साहाराविहीन भएकी छु, श्रीमान र जवान छोरा रोगले मरेपछि र आफ्नो कोही नभएपछि अहिले गुम्बाको आडमा बसिरहेकी छु।” उनको साहारामा अहिले उर्गेन र्तीनजङ गुम्बाका ७८ वर्षीय गुरु कांसर लामा र ५९ वर्षीय टोमा लामा रहेका छन्। उनीहरूले पछिल्लो समय बास र गाँस दिइरहेको बताए।
अहिलेसम्म ती वृद्धाको नागरिकतासमेत छैन। कसरी बनाउने भन्ने आफूलाई पनि थाहा नभएको गुरु कांसरले बताए।