काठमाडौँ - डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार तेस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा रियालले स्पान्योलविरुद्ध ३-१ को सहज जित निकालेको हो।
रियालको जितमा करिम बेन्जेमाले २ गोल गर्दा भिनिसियसले १ गोल गरेका थिए। स्पान्योलका जोसेलुले १ गोल फर्काए पनि रियाललाई रोक्न पर्याप्त बनेन। खेलको १२ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १-० को अग्रतामा पुर्याए। ४३ औं मिनेटमा जोसेलुले गोल गरेपछि स्पान्योलले १-१ गोलको बराबरीको अवस्थामा आएको थियो।
खेलको ८८ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियाललाई २-१ को अग्रता दिलाए। थप गरिएको अतिरिक्त समयमा स्पान्योल १० खेलाडीमा समेटिन पुग्यो। ड्यानियल सेवालोसलाई फउल गरेपछि रेफ्रीले भीएआरको सहायतामा गोलकिपर बेन्जामिन लिकोम्टेलाई रातो कार्ड दिएका थिए। त्यसपछि फ्रि किकमा बेन्जेमाले सिधै गोल गर्दै रियललाई ३-१ गोलको जित दिलाएका थिए।
लगातार तेस्रो जितसँगै शीर्ष स्थानमा उक्लिएको रियालको ३ खेलबाट ९ अंक रहेको छ। पराजित स्पान्योलको भने १ अंक मात्रै रहेको छ।