काठमाडौँ - भारतीय फिल्म निर्माता, निर्देशक तथा अभिनेता करण जोहरले लामो समयदेखि सञ्चालन गर्दै आएको टक शो ‘कफि विथ करण’ सधैंका लागि बन्द भएको छ। बुधबार जौहर स्वयंले कार्यक्रम अब सधैंका लागि बन्द भएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन्।
पछिल्लो ६ सिजनसम्म उक्त कार्यक्रममा बलिउडका चर्चित कलाकारदेखि हस्तीहरुको व्यक्तिगत र पेशागत जीवनसँग जोडिएका विभिन्न संवादहरु भएका थिए। जोहरको सञ्चालनमा रहेको उक्त कार्यक्रम बलिउडका कलाकार र दर्शकहरुमाझमा निकै चर्चित कार्यक्रम थियो।
जोहरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कफि विथ करण मेरो र तपाईंहरुको जीवनको एउटा अंश थियो। अहिले म एकदमै भारी मनले अब कफि विथ करण नआउने घोषणा गर्दैछु।’
सन् २००४ मा उक्त कार्यक्रम पहिलो पटक सार्वजनिक प्रदर्शन भएको थियो। पहिलो पटक स्टार वल्र्ड टेलिभिजनमा प्रदर्शन भएको उक्त कार्यक्रम सन् २०१९ सम्म चलेको थियो।