काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नाम हेरफेर नहुने बताएका छन् । विधि र प्रक्रियाबाट प्रदेशको नाम कोशी राखिएको भन्दै उनले सडकमा कोही उफ्रिँदैमा काेशी नाम हेरफेर नहुने बताएका हुन् ।
एमालेले सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ समृद्विका लागि संकल्प यात्राका क्रममा शनिबार पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले पहिचान पक्षधरका नाममा भएको आन्दोलनको अर्थ नरहेको समेत बताए ।
उनले कोशी प्रदेशको नाम हेरफेर गर्न चुनाव जितेर आउनसमेत चुनौती दिए । अध्यक्ष ओलीले भने, ‘विधि र प्रक्रियाबाट भएको नामकरण त्यसै हेरफेर हुन्न । कि प्रक्रियामा आएर परिवर्तन गर्नुप¥यो कि चुनावि जितेर आउनुप-यो ।’
यस्तै, अध्यक्ष ओलीले विकास, परिवर्तन र अग्रमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको बताए । शान्ति र एकताबिना विकास सम्भव नहुने भन्दै अध्यक्ष ओलीले कसैको विरोध गरेर समय खेर फाल्नुभन्दा विकास निर्माण जुट्न युवा शक्तिको ध्यानाकर्षण गराए ।
उनले भने, ‘कुनै दल र व्यक्ति विशेषको विरोध गरेर समय बर्बाद पार्ने अनि समय गुज्रेपछि विदेशमा रोजगारी गर्न जाने युवा शक्तिको सोच परिवर्तन नभएसम्म देश विकास हुन सक्दैन ।’
मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको समृद्विका लागि संकल्प यात्रा शनिबार १७औं दिनमा फिदिम आइपुगेको हो । उक्त यात्रा आइतबार मध्यपहाडी लोकमार्गको चिवाभन्ज्याङ पुगेर समापन हुँदैछ ।