काठमाडौँ । बैतडीस्थित तल्लो स्वराडको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ।
तस्वदेही इलाका प्रहरी कार्यालयको नेतृत्व अबदेखि प्रहरी निरीक्षकले गर्नुहुनेछ । दुई वर्षदेखि उक्त इप्रकालाई ‘क’ श्रेणीको बनाउन पहल गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए। उनले भने, “नगरपालिकाले २०७६ पुसमा निर्णय गरेर गृहमन्त्रालयमा पत्र पठाएको हो।” मेलौली इलाका प्रहरी कार्यालयअन्तर्गत पञ्चेश्वर, शिवनाथ र मेलौली नगरपालिका पर्छ।
तल्लो स्वराडको जनसङ्ख्या ७० हजारभन्दा बढी छ। विसं २०१६ मा स्थापना गरिएको उक्त इप्रका ६२ वर्षपछि गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो। स्तरोन्नतिपछि तल्लोस्वराडका मेलौली, शिवनाथ र पञ्चेश्वरको सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुने विश्वास गरिएको छ।
गृह मन्त्रालय स्तरीय निर्णयअनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो।