काठमाडाैं । बजारमा सिटामोल अभाव भएसँगै आयान हेल्थकेयर र अन्मोल हेल्थकेयरले बुधवारदेखि सात दिनसम्म औषधि विभाग बिजुलिबजार अगाडि निःशुल्क सिटामोल र मास्क वितरण अभियान शुरु गरेको छ ।
कोरोना महामारीले सिथिल पारेको नेपाली बजार चारै तिरबाट संकटमा परेको छ । महामारीकै कारण परेको संकटले हरेक क्षेत्र प्रभावित भएको छ । आर्थिक क्षेत्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्रमा परेको असरले आम नागरिकमा समस्या सिर्जना भएको छ ।
त्यसतै केही दिनदेखि नेपाली बजारमा सिटामोलको चरम अभाव हुन थालेको छ । मौसमी रुघाखोकिका बिरामी र कोरोना संक्रमित हुनेको संख्यामा वृद्धि भए लगतै बजारमा सिटामोल अभाव हुन थालेको हो ।
सिटामोल अभावको कारणले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपराेस् भन्ने उद्देश्यका साथ औषधि विभाग बिजुलीबजार अगाडि निःशुल्क सिटामोल र मास्क वितरण अभियान शुरु गरिएको हो ।
औषधि आयातकर्ता तथा वितरक आयान हेल्थकेयरले बुधबारदेखि सात दिनसम्म निःशुल्क औषधि वितरण अभियान शुरु गरेको हो । चिकित्सक सहितको वितरक टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि दिँदै आएको छ । परिवारका सदस्य र नागरिक स्यंमलाई सिटामोलको आवश्यकता भएको खण्डमा प्रति व्यक्ति एक पत्ताको दरले सिटामोल दिएको छ ।
सिटामोलका साथ साथै कोभिडलाई मध्य नजर गर्दौ मास्क पनि वितरण गर्दै आएको छ । आगामी सात दिनसम्म बजारमा सिटामोल अभाव भएको खण्डमा सातै प्रदेशमा औषधि वितरण अभियान सञ्चालन गर्ने औषधि व्यवसायीले जानकारी दिएको छ ।
सरकार जनताको स्वास्थ्य प्रति संमवेदनशील नभएको र औषधि अभाव हुँदा पनि सरकारको पक्षबाट कुनै चासो नदेखाएका कारणले औषधि विभागको ध्यनार्कषण गर्न लागि औषधि विभाग अगाडि नै वितरण केन्द्र बनाएको आयोजकको भनाइ छ ।
आम नागरिकलाई सेवा दिने उद्देश्यले सञ्चालन गरिएको अभियानले कोरोना महामारीको समयमा पनि सहजै सेवा सुविधा पाएकोमा नागरिकले खुशी व्यक्त गरेका छन् । यस्ता किसिमका अभियान देशका दुर्गम ठाँउमा पनि शुरु गरेर जनताको मनोबल बढाउने काममा सरकारले विषेश ध्यान दिनु पर्ने नागरिकको माग छ ।
बुधवारदेखि शुरु भएको औषधि वितरण अभियानमा दैनिक ६ सयको हाराहारीमा नागरिकले सेवा लिने गरेका छन् । बजारमा औषधि अभाव भए तापनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित नगराउन सरकार गम्भीतापूर्वक लाग्नु पर्ने देखिएकाे छ ।