सल्यान - सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरेका छन्। शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो। नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक-एक वडाध्यक्ष जितेका छन्।
यस्तै कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारीले तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन्। छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन्।
दश वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ। हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर, वनगाड कुपिण्डे नगरपालिका सहित र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ।