काठमाडौं । १४ औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्ने निर्णय गरेको कांग्रेस संस्थपनइतर समूहलाई यो विषय टाउको दुखाइ भएको छ। मंगलबारदेखि लगातार दिनभरी छलफल र बैठक गरे पनि अझैसम्म साझा उम्मेदवारमा सहमति जुट्न सकेको छैन र आज अन्तिम प्रयासस्वरुप फेरि बैठक बस्दैछ।
बुधबार बसेको बैठक विनानिष्कर्ष सकिएको थियो। पार्टीका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको बैठकमा सभापतिको आकांक्षीबीच कुरा मिल्न नसक्दा विनानिष्कर्ष टुङ्गिएको हो ।
कांग्रेस नेता गुरुराज घिमिरेले उम्मेदवार चयन प्रक्रिया सकारात्मक रहे पनि अन्तिम टुङ्गोमा पुग्न भने नसकिएको बताए। उनले आज बिहान ८ बजे केन्द्रीय समितिका साथी बसेर साझा उम्मेदवार चयन गर्ने बताए।
कांग्रेस नेता डा. रामशरण महतले अधिकांश नेताहरुको राय मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै आज बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने बताए। कांग्रेसको संस्थापनइतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा. शेखर कोइराला सभापतिको आकांक्षी छन्।