काठमाडौँ - आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टिम यतिबेला अमेरिकामा रहेको छ। नेपाली टिमले त्यहाँ रहँदा अमेरिका र ओमानसँग एक दिवसीय सिरिज खेल्ने छ।
तर, त्यसअघि २ वटा अभ्यास खेलको पनि पहिला नै तयारी गरिएकाले नेपालले आज नेपाली अल स्टारसँग खेल्दै छ।
नेपाली अलस्टारमा यसअघि नेपाली टिमबाटै खेलेका पृथु वास्कोटा कप्तान छन् भने बसन्त रेग्मी पनि नेपाल विरुद्ध मैदान उत्रने छन्। पछिल्लो समय अमेरिकामै व्यवसायिक करियर बनाइरहेका पृथु र बसन्त नेपालविरुद्धको खेललाई आफूहरुले स्वभाविकरुपमा लिएको प्रतिक्रिया दिएका छन्।
नेपाली टिम लामो सफर गरेर अमेरिका पुगेपछि त्यहाँको वातावरणसँग घुलमिल बनाउने प्रयासमा रहेकाले यो अभ्यास खेलले आगामी सिरिजलाई फाइदा गर्ने अपेक्षा गरिएको छ।
नेपाल र नेपाली अल स्टारबीचको खेल नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ। शनिबार नेपाली टिमले ह्युस्टन हरिकेन्ससँग खेल्ने छ।
त्यसपछि जुन ९ तारिखमा नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्नेछ। दोस्रो खेल जुन ११ मा अमेरिकासँग खेल्ने छ भने तेस्रो खेल जुन १४ मा ओमानविरुद्ध हुनेछ।
जुन १५ मा अमेरिकासँग अन्तिम खेल खेल्ने छ। अहिले लिग टूको अंक तालिकाको छैटौं स्थानमा रहेको नेपाली टिमले यो सिरिजमा राम्रो प्रदर्शन गर्न सके तालिकामा सुधार गर्ने छ। आईसीसी विश्वकप लिग टूमा प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नुपर्छ।
अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो। ओमान ४० अंकसहित शीर्ष स्थानमा छ। यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा छ।
नेपालले जम्मा १२ खेलमा प्रतिस्पर्धा गर्दा ६ खेलमा जित निकाल्दै १२ अंकसहित छैटौं स्थानमा रहेको छ भने पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर पुछारमा रहेको छ। अमेरिका पाँचौं स्थानमा छ भने नामेविया चौथो स्थानमा छ। ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको क्वालीफायरमा स्थान बनाउने छन्।