चाँदी आयात सहज बनाउँदै राष्ट्र बैंक, सटही सीमा २० गुणा बढाइयो

नेपाल राष्ट्र बैंकले चाँदी आयातलाई सहज बनाउने उद्देश्यले विदेशी मुद्रा सटहीसम्बन्धी नीतिमा खुकुलोपन ल्याएको छ। राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै चाँदी आयातका लागि उपलब्ध सटही सुविधा २० गुणासम्म वृद्धि गरेको हो।

यसअघि चाँदी आयात गर्दा प्रतिपटक अधिकतम एक लाख अमेरिकी डलरसम्म मात्र सटही सुविधा उपलब्ध हुने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार अब आयातकर्ताले चार लाखदेखि अधिकतम २० लाख अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार महिनामा एकपटक चाँदी आयात गर्ने उद्योगलाई २० लाख डलरसम्म तथा व्यवसायीका हकमा चार लाख डलरसम्म सटही सुविधा प्रदान गर्न सकिनेछ। यसले चाँदी आयात गर्ने उद्योग तथा व्यवसायीलाई आवश्यक कच्चा पदार्थ आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

पछिल्लो समय विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रूपमा बढ्दै गएपछि राष्ट्र बैंकले आयात तथा सटहीसम्बन्धी नीतिहरू क्रमशः खुकुलो बनाउँदै आएको छ। चाँदी आयातमा दिइएको यो सुविधा पनि सोही नीतिको निरन्तरता भएको बैंकको भनाइ छ।

नीतिगत यस परिवर्तनले चाँदी व्यवसाय, आभूषण उद्योग तथा सम्बन्धित क्षेत्रको कारोबार थप चलायमान हुने विश्वास गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×