काठमाडौँ - सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई) को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ।
बिहीबार बिहान हतियार बोकेका एकजनाले एफबिआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेको र उसले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेपछि केहीबेर भनाभन भएको थियो। सुरक्षाअधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको हो। घटनास्थलमा नै ती हतियारधारी सन्दिग्धको ज्यान गएको ओहायोको प्रहरीले जनाएको छ।
कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती सन्दिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेका तर निज त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा निजको मृत्यु भएको प्रहरीको भनाइ छ।
एफबिआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने निजको प्रयास, त्यसको मनसाय के थियो भन्ने स्पष्ट भएको छैन। अधिकारीहरूले त्यसको अनुसन्धान गरिरहेका छन्। यो घटना पूर्वराष्ट्रपटि डोनाल्ड ट्रम्पको फ्लोरिडा पामबिचस्थित निवासमा एफबिआईले छापा मारेको केही दिनपछि भएको हो।