थाइल्याण्डसँग पराजित भएसँगै नेपालले विश्वकप खेल्ने सपना सपना मात्रै

काठमाडौँ - नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ। मंगलबार नेपाली टिम थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो। यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ। 

थाइल्यान्डले दिएको ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा अलआउट हुँदै ४० रनमा समेटियो। नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालकी शृष्टि जोशी सर्वाधिक ७ रनमा अविजित रहिन्। 

ओपनर साना प्रविण ६, अनु कठायत ५, अन्जली विश्वकर्मा ३, कृतिका मरासिनी ३, मनिषाकुमारी उपाध्यय ३, रञ्जु श्रेष्ठ १ र स्नेहा मिश्रा १ रनमा आउट भइन्। यता, सञ्जु राजवंशी, आश्मा पुलामी मगर र मनिषा राणाले खाता खोल्न सकेनन्।

त्यसअघि यूकेएम एसडी क्रिकेट ओभल बांगीमा टस हारेर पहिला ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। थाइल्यान्डको लागि थिपाच्चा पुथावाङले सर्वाधिक २० रन बनाइन्। ओपनर बंथिदा लीफथानाले २२ बलमा १ चौकासहित १९ रन जोडिन्। 

यता, सुवनाना खियाओटो २४ बलमा १६ रनमा आउट भइन्। नेपालकी स्पिनर मनिषा उपाध्य र कप्तान कृतिका मरासिनीले २/२ विकेट लिइन्। स्नेहा महराको नाममा १ विकेट रह्यो।

नेपाललाई शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टि२० विश्वकप खेल्न अंक गणीतिय झिनो आशा कायमै राख्न आज थाइल्यान्डविरुद्ध अविश्वसनिय फराकिलो जित निकाल्नुपर्ने थियो। 

आजको खेलमा पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो। 

नेपाल युएईसँग ८ रनमै अल आउट भएको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको थियो।

६ देश सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले पहिलो पटक आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टी२० विश्वकप खेल्न पाउनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×