काठमाडौँ - दाङको तुलसीपुरमा निर्माण हुने भनिएको चक्रपथको काम अघि बढ्न सकेको छैन।
चुनावको समयमा निकै चर्चा पाउने चक्रपथ अहिले भने ओझेलमा परेको छ। एक दशक अघिदेखि निर्माण कार्य सुरु भएको चक्रपथ निर्माणको कार्य डेढ किलोमिटरममा मात्रै सीमित बनेको छ। तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीका अनुसार अहिलेसम्म एक किलोमिटर मात्रै कालोपत्र भएको छ। चक्रपथलाई वैकल्पिक सडकका रुपमा लिइएको थियो। तर, हाल बजेट अपर्याप्त हुँदा काम अघि बढ्न नसकेको इञ्जिनीयर योगीले बताए।
तुलसीपुर उपमहानगरपालिका–७ राजापुरदेखि रक्षाचौर आँखा अस्पताल–तुलसीपुर ३ डाँडाखुट्टी, तुलसीपुर ८ टिकरी, तुलसीपुर १२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखाङ्कन गरिएको थियो। जो करिब २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडाइ बनाउने योजना रहेको भए पनि त्यो कामले तीव्रता पाउन सकेको छैन। इञ्जिनीयर योगीका अनुसार ती स्थानमा कच्ची ट्र्याक खोलिएको भए पनि पक्की भने हुनसकेको छैन। “सबैमा कच्ची ट्र्याक त खोलिएको छ”, उनले भने, “तर, पक्की भने एक किलोमिटर मात्रै छ।” तत्कालीन समयमा काठमाडौँको कन्सल्टेन्सी आरडिसीले सम्भाव्यता अध्ययन गरेको थियो।
साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो।