पर्सा । पर्सामा अस्पतालमा छोरी जन्माएपछि आमा फरार भएकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् ।
सुत्केरी व्यथा लागेपछि अस्ती साँझ सासुसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले जनाएको छ । अस्पतालमा रानीघाट–६ वीरगञ्जको ठेगाना टिपाएका उनीहरूले दुवै जनासँग मोबाइल नभएको बताएका थिए ।
हिजो साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका उनीहरूको खोजी तीव्र पारिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले थाहाखबरलाई जानकारी दिए ।