काठमाडौँ - बलिउड अभिनेत्री महिमा चौधरी केही समय यताबाट क्यान्सरसँग संघर्ष गरिरहेकी छिन्। अनुपम खेरले महिमा चौधरीको अहिलेको स्वास्थ्य अवस्थाबारे आफ्नो भ्लगमार्फत जानकारी गराएका छन्।
अनुपमले पोस्ट गरेको सो भिडियोमा अभिनेत्री महिमा विगत केही महिनादेखि क्यान्सरसँग लडिरहेको र यसको उपचार गराइरहेको खुलासा गरिएको छ। यो भिडियोमा महिमा चौधरी आफ्नो रोगबारे कुरा गर्दै भावुक भएकी छिन्। क्यान्सरको कारण सबै कपाल गएपछि केही समय यताबाट आफूमा आत्मविश्वास नरहेको उनले बताएकी छिन्। तर, अनुपम खेरले उनलाई फिल्म अफर गरेका थिए। सुरुमा स्वास्थ्य अवस्थाकै कारण उनले अनुपमको फिल्म खेल्न सकिनन्।
तर,अहिले महिमा चौधरीले आफू ठिक हुँदै गएको बताएकी छिन्। उनले अब नक्कली कपाल लगाएर भएपनि अनुपम खेरको फिल्ममा काम गर्ने भएकी छिन्। घरमा त्यसै बस्दा आत्मविश्वास झन् खस्कने भएकाले र आफ्नो स्वास्थ्यमा निकै सुधार आएकाले पनि उनी फिल्ममा आउने पक्षमा रहेकी छिन्।
यसै क्रममा उनी छायांकनका लागि फिल्मको सेटमा पुनरागमन भएकी छिन्। महिमाले अब अनुपम खेरको फिल्म 'द सिग्नेचरबाट' कमब्याक गर्दै छिन्।
आफूले नक्कली कपाल लगाएर भए पनि फिल्म खेल्दा क्यान्सर पीडित महिलाको आत्मविश्वास बढ्ने उनको भनाई छ। अभिनेत्री मनिषा कोइरालाले पनि क्यान्सर जितेर फिल्म खेल्दै आएकाले आफूले पनि क्यान्सर जित्ने नायिकाको विश्वास रहेको छ।