बालेन र कुलमानबीच ज्वागलमा छलफल जारी, रास्वपासँग सहमति अझै टुंगोमा पुगेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा क्षेत्रका प्रभावशाली व्यक्तित्व कुलमान घिसिङबीच ललितपुरको ज्वागलमा छलफल जारी रहेको छ। ज्वागलस्थित कुमार बेनको निवासमा भइरहेको उक्त भेटवार्तामा दुवै नेताबीच भावी राजनीतिक सहकार्य र दल निर्माणबारे संवाद केन्द्रित रहेको उनीहरू निकट स्रोतले जनाएको छ।

बालेन र कुलमान मिलेर देश विकास केन्द्रित नयाँ राजनीतिक शक्ति अघि बढाउने विषयमा यसअघि नै प्रारम्भिक सहमति बनेको बताइन्छ। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि संयुक्त रूपमा अघि बढ्ने विषयमा छलफल भए पनि सांगठनिक संरचनाको विषयमा सहमति जुट्न सकेको छैन।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने र पार्टीमा सभापति रवि लामिछानेपछि दोस्रो वरीयता दिने प्रस्ताव गरेको थियो। साथै, देशभर आधारभूत तहसम्म संगठन विस्तार भइसकेको र संसदीय अनुभवसमेत रहेको उल्लेख गर्दै सांगठनिक संरचनामा रास्वपाको प्रमुख हिस्सेदारी हुनुपर्ने प्रस्ताव अघि सारेको थियो।

तर, अन्य दलबाट आउने नेता–कार्यकर्तालाई समेत समेटेर बृहत्तर राजनीतिक शक्ति बनाउने बालेनको अवधारणासँग उक्त प्रस्ताव नमिलेका कारण सहमति हुन नसकेको स्रोतको भनाइ छ। “सांगठनिक स्ट्रेन्थमा आफ्नो हिस्सेदारी प्रमुख हुनुपर्छ भन्ने प्रस्तावकै कारण छलफल अहिलेसम्म सकारात्मक बन्न सकेको छैन,” स्रोतले बतायो।

यद्यपि, बालेन र कुलमानबीच सहकार्य हुने विषय लगभग निश्चित रहेको र जारी छलफलबाट चाँडै ठोस निर्णय आउने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×