काठमाडौँ - स्पेनिस महिला राष्ट्रिय फुटबल टिमका १५ जना खेलाडीले प्रशिक्षक जर्ज भिल्दालाई हटाउन माग गरेका छन्। भिल्दा टिममा रहँदा आफूहरुको मानसिक स्वास्थ्य र भावनात्मक स्थितिलाई नकरात्मक प्रभाव पारेको भन्दै उनीहरुले राष्ट्रिय टिमबाट राजीनामा दिएका हुन्।
उनीहरुले प्रशिक्षकको रणनीति, निर्णय र पछिल्लो समयको नतिजाले आफूहरुलाई चित्त नबुझेको भन्दै बिहीबार राजीनामा दिएका हुन्। रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ)ले भने खेलाडीलाई राष्ट्रिय टिमको प्रशिक्षक माथि प्रश्न उठाउने अधिकार नभएको बताएको छ। उसले भनेको छ, ‘प्रशिक्षकको विषयमा निर्णय लिने काम उनीहरुको जिम्मेवारी भित्र आउँदैन। यसरी निर्णय लिनु फुटबलमा द्वन्द्व पैदा गर्नु हो। यो फुटबल विकासका लागि हानिकारक छ।’
फेडेरेसनले राजीनामा दिएका खेलाडीको माग अनुसार प्रशिक्षक नफेरिने भन्दै उनीहरुलाई टिममा नबोलाउने पनि बताएको छ। टिममा फर्कन चाहेमा उनीहरुले माफी माग्नु पर्ने शर्त फेडरेशनले अघि सारेको छ। ‘यो एक गम्भीर अनुशासन उल्लंघन हो। यसका कारण उनीहरुलाई ५ वर्षको प्रतिबन्ध पनि लगाउन सकिन्छ’, फेडेरेसनले भनेका छ।
यो घटना विश्वभरको महिला तथा पुरुष फुटबल फुटबलमा एक अकल्पनीय घटना भएको भन्दै फेडरेशनले उनीहरुको सट्टामा अब युवा खेलाडीलाई टिममा राख्ने तयारी गरेको छ। ‘कति धेरै युवा खेलाडी छन्, जसले स्पेनिस जर्सी लगाएर खेल्नमा गौरव गर्छन’, फेडेरेसनले भन्यो।
४१ वर्षीय प्रशिक्षक भिल्दा २०१५ देखि राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा कार्यरत छन्। उनकै प्रशिक्षणमा स्पेनिस महिला टिम २०२२ को युरोमा क्वाटर फाइनलसम्म पुगेको थियो। स्पेनले घरेलु मैदानमा अक्टोबर ७ र ११ मा स्विडेनसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ।