काठमाडौं - यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी बारानिजगढ नगरपालिका–१२रतनपुरी ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ टन गाउँ बस्ने तपस्वी राम बहादुर बम्जन भन्ने ३४ वर्षीय रामलाल बम्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
बाराको हलखोरियास्थित बम्जनको आश्रममा आनीको रूपमा रहेकी पीडितलाई बाल यौन शोषण गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ अनुमति प्राप्त भएको थियो ।
बम्जनको खोजी गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६टन गाउँमा लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बम्जनलाई चौथो तलामा फेला पारेको र भाग्ने क्रममा पक्राउ गरेको हो ।उनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ नेपाली रूपैयाँ बराबरको विदेशी मुद्राहरू तथा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रूपैयाँ गरी जम्मा ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ नेपाली रूपैयाँ, पेनड्राईभ २० थान, मोबाइल १४ थान, ल्यापटप २ थान, आइप्याड÷ट्याब ५ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
बम्जनको आश्रमबाट विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।