रियल म्याड्रिड र बेन्जेमाबारे सोचेका छैनः लेवान्डोस्की

काठमाडौँ - यसै समरमा क्याटलान क्लब बार्सिलोना आएका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ला लिगा प्रतिद्वन्द्वी रियाल म्याड्रिड र उनका फ्रान्सेली फरवार्डबारे केही नसोचेको बताएका छन्।

‘म रियाल म्याड्रिडविरुद्ध खेल्न सधैं तयार छु। उनीहरुविरुद्ध कसरी खेल्ने मलाई थाहा छ,’ लेवान्डोस्कीले भने, ‘गत सिजन उनीहरुले उत्कृष्ट र सफल समय व्यतित गरे। हामी उनीहरुलाई हराउन यहाँ छौँ। हामीलाई थाहा छ यो गाह्रो हुनेछ। तर यो फुटबल हो।’

‘रियाल म्याड्रिडविरुद्ध मात्र होइन। हामी सबै सधैं तयार हुनुपर्छ किनभने त्यहाँ उत्कृष्ट क्लबहरु छन्,’ लेवान्डोस्कीले भने, ‘तपाईले सधैं आफ्नो उत्कृष्ट स्तरमा खेल्नुपर्छ। हामी हरेक खेल जित्न चहान्छौं। तर, यो चुनौतीपूर्ण हुनेछ।’

‘म रियाल म्याड्रिड र करिम बेन्जेमाको बारेमा सोचिरहेको छैन। एक उत्कृष्ट स्ट्राइकर जो वर्षौदेखि ला लिगामा छन्। मेरो लागि बार्सिलोनाबाट राम्रो खेल्नु महत्त्वपूर्ण हुनेछ। बेन्जेमासँग होइन,’ उनले भने।

लेवान्डोस्कीले आफ्नो अनुभव प्रयोग गरेर गत सिजन उपाधिविहीन बनेको जाभी हर्नान्डेजको बार्सिलोनालाई यो सिजन उपाधि जिताउन सहयोग गर्ने बताएका छन्। ‘उमेरले फर पार्दैन। यो अंक मात्र हो,’ लेवान्डोस्कीले भने, ‘म ३३ वर्षको महसुस गर्दिन। शारीरिक रुपमा राम्रो महसुस भइरहेको छ र मैले लगातार शीर्षस्तरमा खेलिरहेको जस्तो लाग्छ। मेरो अनुभवले टोलीलाई सकारात्मक प्रभाव पार्न सक्छ। टोलीसँग धेरै प्रतिभावान् र क्षमतावान् खेलाडी छन्।’

‘अहिले सबै कुरा राम्रो चलिरहेको छ। हामीले सुरुदेखि नै हामी राम्रो अवस्थामा छौं भनेर देखाउनुपर्छ। टोलीको नेतृत्वदेखि व्यवस्थापनसम्म सबै राम्रो भइरहेको छ। प्रशिक्षक जाभीसँग पनि स्पष्ट योजना रहेको छ,’ लेवान्डोस्कीले भने, ‘प्रशिक्षकले मबाट के चाहन्छन् भन्ने मैले बुझेको छु। सोही कारण नै म बार्सिलोना आएको हुँ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×