काठमाडौँ - इंग्लिस क्लब आर्सनलले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीबाट युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई क्लबमा अनुबन्ध गरेको छ।
आर्सनलले डिफेन्डर जिनचेन्कोलाई ४ वर्षको लागि ३० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो। २५ वर्षीय डिफेन्डर ६ वर्ष सिटीमा बिताएर आर्सनल आएका हुन्। जिनचेन्को सन् २०१६ मा सिटी आएका थिए।
आर्सनलको यो सिजनमा पाँचौ सम्झौता हो। यस्तै जिनचेन्को सिटीबाट आर्सनल पुग्ने दोस्रो खेलाडी हुन्। यसअघि ब्राजिली विंगर फरवार्ड गाब्रियल जेसस ४५ मिलियन पाउन्डमा आर्सनलमा अनुबन्ध भइसकेका छन्।
जिनचेन्कोले सिटीका लागि १ सय २८ खेल खेलेका छन्। उनले सिटीका लागि प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन्। युक्रेनका लागि उनले ५२ खेलमा २८ गोल गरेका छन्।