विश्वकपले इंग्लिस प्रिमियर लिगमा ६ साता विश्राम

काठमाडौँ - इंग्लिस प्रिमियर लिग (ईपीएल) ले अहिलेसम्म कहिल्यै नभएको ६ साताको विश्राम लिँदै छ। कारण हो, कतारमा हुने विश्वकप। यो सप्ताहन्तका खेल सबै सकिएका छन्। अब फेरि डिसेम्बर २६ देखि मात्र खेल सुरु हुनेछ।

विश्वकप आफैं नोभेम्बर २० मा सुरु भएर डिसेम्बर १८ मा सकिनेछ। यस्तोमा प्रश्न हो, विश्वकप विश्रामअघि ईपीएलको वास्तविक स्थिति कस्तो छ त? यो प्रश्न किन महत्त्वपूर्ण छ भने यो लिग नै त्यस्तो प्रतियोगिता हो, जसबाट सबैभन्दा बढी खेलाडीले विश्वकप खेल्नेछन्।

आर्सनल लिगको शीर्ष स्थानमा रहेको छ। टोलीलाई दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीमाथि ५ अंकको अग्रता प्राप्त छ। सन् २००७-०८ को सिजन यता आर्सनल क्रिसमसअघि लिग तालिकाको शीर्षस्थानमा रहेको पहिलोपल्ट हो। आर्सनलको १४ खेलबाट ३७ अंक छ। उसले आफ्नो इतिहासकै सबैभन्दा राम्रो सुरुआत पाएको छ। महत्त्वपूर्ण तथ्य के छ भने सुरुआती १४ खेलमध्ये १२ मा विजयी रहने सबै टिमले अहिलेसम्म अन्त्यमा लिग जितेको छ।

त्यतिमात्र होइन, पछिल्लो १३ सिजनमा क्रिसमसका बेला शीर्ष रहने टिममध्ये १० ले अन्ततः लिग उपाधि पनि जितेको छ। यसले आर्सनललाई उत्साहित बनाउने नै छ। तर निराश हुनुपर्ने तथ्य पनि छ। डिसेम्बर २५ मा शीर्ष स्थानमा रहेर आर्सनल ५ पल्ट लिग अन्त्यमा विजेता नरहेको इतिहास पनि छ। न्युकासल युनाइटेड भने तेस्रो स्थानमा रहेको छ र यो टोलीका लागि एक प्रकारले अनेक्षित हो। न्युकासल आर्सनलभन्दा ७ अंकले पछाडि परेको छ।

सन् २००१-०२ यता पहिलोपल्ट न्युकासल यो स्थितिमा पुगेको हो। टोटेनहम थप एक अंक पछाडि छ न्युकासल भन्दा । यसरी लिगको शीर्ष ४ को स्थिति छ भने त्यस पछाडि म्यानचेस्टर युनाइटेड र लिभरपुल रहेका छन्। म्यानेस्टर लयमा फर्कन प्रयासमा छ भने लिभरपुलको प्रदर्शन कहिले राम्रो त कहिले खराब भइरहेको छ। चेल्सीले लिगका पछिल्ला ५ खेलमध्ये कुनैमा पनि जित निकाल्न सकेको छैन। टोली आठौं स्थानमा रहेको छ।

वास्तवमै निकै रमाइलो स्थिति के छ भने चेल्सी पछाडिका सबै टिमले आफूलाई रेलिगेसन दबाब महसुस गर्नेछ। अझ भनौं, रेलिगेसन क्षेत्रमै छन्। नवौंमा रहेको फुलहम र १८ औं स्थानमा रहेको नटिङ्घम फरेस्टबीच जम्माजम्मी ६ अंकको मात्र भिन्नता छ। उल्भस सबैभन्दा पछाडि छ, सुरक्षात्मक स्थितिबाट ४ अंक पछाडि।

विश्वकप सुरु हुन ठ्याक्कै अगाडि २ टिमले व्यवस्थापक फेरेका छन्। उल्भसका स्टिभ डेविसको स्थानमा जुलेन लोपेटेगुइ आएका छन् भने साउथह्याम्पटनले नयाँ प्रशिक्षक पाएको छ नथान जोन्सका रूपमा। साउथह्याम्पटन पुछारबाट दोस्रोमा रहेको छ। सट्टेबाजका लागि अब बर्खास्त हुने प्रशिक्षकका रूपमा मानिएका छन् एभरटनका फ्रान्क लाम्पार्ड। रेलिगेसन क्षेत्रबाट एक अंक माथि रहेको एभरटनले पछिल्लो ३ खेलमा हार व्यहोरेको छ।

डिफेन्डिङ च्याम्पियन सिटीका १६ खेलाडीले विश्वकप खेल्नेछन्। यो कुनै पनि क्लबका लागि कीर्तिमान हो। ब्रेन्टफोर्डविरुद्ध हालै पराजित खेलमा १६ मध्ये १० खेलाडीले सुरुदेखि खेले। त्यसमध्ये १ खेलाडीले विश्वकप खेल्ने छैनन्। उनी हुन् नर्वेका इर्लिङ हल्यान्ड। नर्वे छनोट नै हुन सकेनन्। म्यानचेस्टर युनाइटेडका १५ खेलाडी कतार जानेछन्। चेल्सीका १२, टोटेनहमका ११ र आर्सनलका १०। न्युकासलका ५ र लिभरपुलका ५ खेलाडीमात्र कतार जानेछन्।

विश्वकपले लिभरपुललाई धेरै फाइदा गराउन सक्छ। किनभने विश्वकपपछि फेरि लिग सुरु हुँदा उसको टिममा थाकेका खेलाडी धेरै हुने छैनन्। मोहम्मद सलाहको इजिप्ट नै छनोट भएको छैन, त्यसैले उनले यो विश्राममा राम्रै आराम पाउने छन्। साउथ ह्याम्पटन र बर्नमाउथबाट समान २ तथा लिड्सबाट ३ खेलाडीले मात्र विश्वकप खेल्नेछन्। यस्तोमा यी टिमले पनि विश्वकपपछि राम्रो प्रदर्शन गर्न सक्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×