काठमाडौँ - प्रदीप शाहीद्वारा निर्देशित नेपाली फिल्म ‘अन्तिम संस्कार’ यतिबेला पोष्ट प्रोडक्सनमा छ। ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो।
लामो समयदेखि लण्डनमा बस्दै आएका शाहीले त्यहीबाट फिल्म मेकिङमा ग्राजुयट गरेका छन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा समेत काम गरेर राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेका शाही यतिबेला आफूलाई नेपाली फिल्म उद्योगमा स्थापित गर्न खोज्दैछन्।
अहिले पनि धेरै नेपाली कलाकार एवं निर्देशकहरुको रोजाइमा लण्डन पर्दै आएको छ। तर, लामो समय लण्डनमै बिताएका शाही नेपाल आएर नेपाली फिल्म निर्देशनमा सक्रिय हुन खोजिरहेका छन्। उनी नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्य बोकेर आफूले काम गरिरहेको बताउँछन्। पहिलो चलचित्र ‘गोर्खाः विनिथ द ब्रेभरी’ लण्डनमा विशेष प्रदर्शन गरिएपनि दोस्रो फिल्म ‘अन्तिम संस्कार’ भने अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने आफूहरुको पहिलो प्रयास रहने निर्देशक शाहीले बताएका छन्।
‘हाम्रो पहिलो प्रयास अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा लैजाने रहन्छ’ उनले भने ‘त्यसपछि मात्रै यो फिल्म सिनेमा हलमा प्रदर्शन हुनेछ।’ ‘अन्तिम संस्कार’को अर्थ मानिसको मृत्युपश्चात गरिने संस्कार हो। निर्देशक शाहीका अनुसार यो फिल्ममा ‘मर्डर मिसयूज’ को कथालाई समावेश गरिएको छ। सामाजिक एवं सांस्कृतिक कथावस्तुमा रहेका आईरहेका भन्दा विल्कुलै फरक शैलीको फिलम निर्माण गर्ने प्रयास गरिएको उनको दाबी छ।
उनी आफू र आफ्नो टिमले निकै मेहनत गरेको बताउँदै फिल्म हेरेपछि दर्शकले ‘यो नेपाली र नेपाली टीमले बनाएको फिल्म हो र ?’ भनेर आश्चर्यमा पर्ने समेत दाबी गर्छन्। ‘नेपालमा धेरै ट्यालेन्ट फिल्म मेकरहरु हुनुहुन्छ। कथा राम्रो छ, पर्फेमेन्स राम्रो छ। लोकेशन नेपाली छ भने हामीले आफ्नै मौलिक कथा निकाल्न सक्दो रहेछौं भन्ने फिल हुन्छ जस्तो लाग्छ’ उनी भन्छन्।
नेपाली फिल्मलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन र चिनाउन निर्माता एवं निर्देशकहरु प्रयासरत हुनुपर्ने उनी बताउँछन्। आफू त्यही प्रयासमा लागिरहेको उनको भनाई छ। यतिबेला लण्डनमै पोष्ट प्रोडक्सनको काम भईरहेको ‘अन्तिम संस्कार’को लगानी झण्डै २ करोड पुग्ने अनुमान छ।
विनोद सुवेदी खत्री (टाटेमित) को निर्माण रहेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती लगायतका कलाकारहरुको अभिनय रहेको छ।
निर्देशक शाही ‘अन्तिम संस्कार’पश्चात ‘गोर्खाः विनिथ द ब्रेभरी २’ निर्माणको तयारीमा लाग्नेछन्। यो फिल्म भने कर्मशियल हिसाबले निर्माण हुने उनको भनाई छ।