काठमाडौँ - इपिएलले क्यानविरुद्ध अदालतमा रिट दायर गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एभरेस्ट प्रिमियर लिग (इपिएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि इपिएलले क्यानलाई विपक्षी बनाएर रिट दायर गरेको हो।
इपिएलले बिहीबार वक्तव्य जारी गरी क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा बुधबार रिट दायर गरेको जनाएको छ।
ईपीएलले क्यानसँग पाँचौं संस्करण आयोजना गर्न माग गरेको थियो। तर, क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गर्दै सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म नेपाल टी–२० लिग आयोजना घोषणा गर्दै एउटा देशमा एकमात्र फ्रेन्चाइज लिग हुने जनाएको थियो। नेपाल टी–२० लिगको घोषणा गरेपछि ईपीएलको अस्तित्व संकटमा परेको छ। क्यानको निर्णयले आफूहरू दुःखी हुन पुगेको ईपीएल र त्यसका ६ फ्रेन्चाइज टोलीले बताएका थिए।
क्यान आफ्नो निर्णयमा यथावत रहेमा आफूहरूले क्यानको कार्यक्रम बहिष्कार गर्ने चेतावनी ईपीएल र सम्बन्धित फ्रेन्चाइज टोलीले दिएका थिए। ईपीएलले क्यान र सेभेन थ्री स्पोर्ट्ससँग गरेको सम्झौता कानुन विपरीत रहेको जनाउँदै यसलाई तत्काल रोक्का गर्न अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको जनाएको छ।
इपिएलले आफ्ना टिममा लिकसमेत जम्मा गरी आफूहरूले स्वीकृति नपाए क्यानको सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी सोमबार नै दिएको थियो।