अहिले एकदिवसीय क्रिकेटमा ‘फोकस’ हुनुपर्छः पूर्वकप्तान ज्ञानेन्द्र

काठमाडौँ - पाँच महिनापछि राष्ट्रिय क्रिकेट टिममा फर्किएका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय (ओडिआई) खेलमा ध्यान दिनुपर्ने बताएका छन्।

कीर्तिपुरस्थित टियु मैदानमा ‘कमब्याक’पछि सञ्चारमाध्यमसँग बोल्दै ज्ञानेन्द्रले टिममा फर्किँदा खुसी भएको र अबको लक्ष्य ५० ओभरको खेलमा हुनुपर्ने बताएका हुन्।

‘कमब्याक हुनु खुसीको कुरा हो। खेलाडीको नाताले जहिले पनि खेलौं भन्ने हुन्छ। राष्ट्रिय टिममा खेल्न पाउनु कुनै पनि खेलाडीको लागि सपना हो। फेरि आउन पाएकोमा खुसी छु। फेरि टिमलाई योगदान गर्न सक्छु भन्ने छ,’ उनले भने।

गत मार्चमा आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध खेलेयता ज्ञानेन्द्र टिम बाहिर थिए। त्यसयता नेपालले केही अन्तर्राष्ट्रिय घरेलु श्रृंखला र बाहिर गएर खेलेको थियो।

ज्ञानेन्द्रले सबै खेलाडी टिमभित्र नहुने र सबै आफ्नो बसमा नहुँदा टिममा फर्कनमा ध्यान दिएको बताएका छन्। ‘टिम बाहिर बस्दा गाह्रोभन्दा पनि स्वीकार गर्नुपर्छ। सबै भित्र हुँदैन। सबै यो समयबाट गुज्रिन्छ। सबै नियन्त्रणमा हुँदैन। त्यसैमा ध्यान दिएँ’, उनले भनेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले पछिल्लो वर्ष ज्ञानेन्द्रसहित दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तानी सुम्पिएको थियो।

नेपालले आगामी महिना केन्यासँग ५ टी-२० श्रृंखला र ३ एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्दैछ। खेल २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामै हुनेछ।

यस्तै क्यानले मुख्य प्रशिक्षकमा भारतीय नागरिक मनोज प्रभाकरलाई नियुक्त गरेको छ। प्रशिक्षक पुवुदु दासानायकेले टिम प्रशिक्षण गराउँदा बाहिर रहेका ज्ञानेन्द्र प्रभाकरको प्रशिक्षणमा फर्किएका हुन्।

यस्तै, ज्ञानेन्द्रले अनुभवी कोचको निर्देशनमा एकदिवसीय खेलमा ध्यान दिएर केन्या टुर जित्न खेल्ने बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×