झापा- झापाको बिर्तामोडमा शनिबार बेलुका धान बोकेको ट्रयाक्टर पल्टिँदा एक वृद्धको मृत्यु भएको छ।
बिर्तामोड ९ कंचन टोलमा बेलुका करिब ७ बजेतिर थ्रेसर गरेको धान बोकेको प्र १-०१-००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा ट्रयाक्टरमा रहेका ७२ वर्षीय बुद्धराज श्रेष्ठको मृत्यु भएको हो।
धानमा थ्रेसर लगाएर बिक्रीका लागि ट्रयाक्टरमा लैजाने क्रममा ट्याक्टरमा सवार किसान श्रेष्ठको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ट्रयाक्टरको ट्रलीमा राखिएको धानमाथि श्रेष्ठ रहेका थिए।
ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ।