काठमाडौँ - इंग्ल्याण्डमा जारी महिला युरोकपको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आज साबिक विजेता नेदरल्याण्ड्सले फ्रान्सको सामना गर्नेछ। खेल न्यु योर्क स्डेडियममा नेपाली समय अनुसार राति पौने १ बजेबाट सुरु हुनेछ।
उपाधि रक्षा अभियानमा रहेको नेदरल्याण्ड्स फ्रान्सलाई हराउँदै तेस्रो पटक युरो सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको छ।
समूह ‘सी’ को उप विजेता बन्दै अन्तिम ८ मा स्थान बनाएको नेदरल्याण्ड्सले समूह चरणका ३ मध्ये २ खेलमा जित तथा १ खेलमा बराबरीको नतिजा निकाल्यो। पहिलो खेलमा स्विडेनसँग १-१ को बराबरीमा रोकिएको नेदरल्याड्सले दोस्रो खेलमा पोर्चुगललाई ३-२ तथा तेस्रो खेलमा स्विट्जरल्याण्डलाई ४-१ ले हरायो। उसले समूह चरणमा ८ गोल गर्दा चार गोल खाएको छ।
फ्रान्स पनि साबिक विजेतालाई स्तब्ध पार्दै पहिलोपटक युरो सेमिफाइनलमा प्रवेश गर्ने प्रयासमा हुनेछ। उसलाई पनि समूह चरणमा राम्रो प्रदर्शन गरेको नेदरल्याड्स विरुद्ध जित निकाल्न सहज भने छैन।
समूह ‘डी’ को विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश फ्रान्सले समूह चरणमा २ जित र १ बराबरीको नतिजा निकाल्यो। इटाली ५-१ र बेल्जियमलाई २-१ ले हराएको फ्रान्स आइसल्याण्डसँग १-१ को बराबरी खेलेको थियो। उसले ८ गोल गर्दा ३ गोल व्यहोर्यो।
इतिहास हेर्ने हो भने फ्रान्स बलियो देखिन्छ। यी दुईले हालसम्म ५ खेलमा १ अर्काको सामना गर्दा फ्रान्सले ३ तथा नेदरल्याड्सले १ जित हात परेका छन्। भने १ खेल बराबरीमा सकिएको छ। फ्रान्स आफ्नो बलियो इतिहासलाई निरन्तरता चाहन्छ भने नेदरल्याण्ड्स पनि इतिहास झुलाउँदै जित निकाल्ने प्रयासमा हुनेछ।