काठमाडौँ - सरकारी छाप किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलबार १२ जनालाई पक्राउ गरेको हो। काठमाडौं महानगर-१२ स्थित त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाएर मानिसहरूलाई ठगी गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोली उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पाका २९ वर्षीय अमृत थापा, २४ वर्षीय प्रज्ज्वल खड्का, बागलुङका ३० वर्षीय रञ्जित कार्की, म्याग्दीका ३३ वर्षीय रामजी परियार, ललितपुरका ३६ वर्षीया गोमा बजगाई, पाल्पाका ३३ वर्षीय जीवनकुमार श्रेष्ठ र रामेछापका ३७ वर्षीय मिठे मगर रहेका छन्। यसै गरी ललितपुरका रमेश बजगाई, काभ्रेका २५ वर्षीय सन्दिप मैनाली, सिन्धुलीका २१ वर्षीय अभिषेक मगर, दैलेखका २२ वर्षीय निरन्जन तिवारी र धादिङका २४ वर्षीय मदन तामाङ पनि पक्राउ परेका छन्।
उनीहरूलाई कालिमाटीको टोलीले कलंकी, महाराजगन्ज, गोंगबु, सिनामंगल, गौशाला, जमलबाट पक्राउ गरेको वृत्तले जनाएको छ। उनीहरूबाट प्रहरीले १० वटा विभिन्न सरकारी तथा निजी छाप, कन्सुलर विभागको एउटा, राष्ट्रिय परीक्षा बोर्डको एउटा, परीक्षा नियन्त्रण कार्यालयको एउटा छाप बरामद गरेको छ। यसै गरी उनीहरुबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।