सभागृहको नाम बिपी सदन राख्ने निर्णय

काठमाडौँ - तनहुँको व्यास नगरपालिका–३ स्थित बिपी वनबाटिकामा निर्माणाधीन सभागृहको नाम ‘बिपी सदन’ राख्ने निर्णय भएको छ। तनहुँ जिल्लासभाको बैठकले उक्त निर्णय गरेको हो। 

व्यास नगरपालिकाले सभागृहको नाम बिपी सदन राख्न कार्यपालिकाको बैठकको निर्णय गरी माग गरेको थियो। नगरपालिकाको मागबमोजिम यही चैत ९ गते बसेको जिल्लासभाको बैठकले सभागृहको नाम बिपी सदन राख्ने निर्णय गरेको जिल्ला समन्वय अधिकारी थमनसिंह थापाले जानकारी दिए। जिल्लासभामा समन्वय समितिका प्रमुख, उपप्रमुख, चार नगरपालिकाका प्रमुख र उपप्रमुख तथा छ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सदस्य रहन्छन्। सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ। विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो। विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो। कोरोना कहरका कारण भवन निर्माणको म्याद चैत मसान्तसम्म थप भएको छ।

भ्याटबाहेक रु. २३ करोड ६२ लाख ४३ हजार ३३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे-एमए-प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो। सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण सुरु भएको थियो। सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ। ७५० क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ। उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ।

सभाहलबाहिर फाउण्टेनसहितको भिआइपी पार्किङस्थलसमेत रहनेछ भने सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×