अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

काठमाडौं - मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० स्थित खाजा घरबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलोसहित  २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा थाहा नगरपालिका–८ काभ्रे बस्ने ५४ वर्षीय तेज बहादुर थिङ र सोही नगरपालिका–११ घर भई हेटौंडा उपमहानगरपालिका–२ डेरा गरी बस्ने ४३ वर्षीय शरण लामा रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले उक्त खाजा घरमा बसिरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर १८ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–१ बस्ने १९ वर्षीय ईश्वर न्यौपानेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बासँगढी नगरपालिका–३ बस्ने १९ वर्षीय खुम बहादुर शाही र बाँके जानकी गाउँपालिका–६ बस्ने ४० वर्षीय कैलाश भाट रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ १ ग्राम ४० मिलिग्रामसहित सोही नगरपालिका–१ खैरापुर बस्ने २० वर्षीय गणेश वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुर समेतबाट खटिएको प्रहरीले भारतको लौकाहीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ पन्ध्र बिगाहाबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ बस्ने ४० वर्षीय बिर बहादुर थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी ड्राईभरटोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×