नवौँ राष्ट्रिय खेलकुद: मधेसमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौँ - नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशमाथि रोमाञ्चक जित हात पारेको छ। रोमाञ्चक खेलमा कर्णालीले मधेश प्रदेशलाई ३ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो.

मधेश प्रदेशका आदिल आलमको ५ विकेट लिएको र हरिशंकर साहले ४८ रन बनाए पनि मधेसलाई जिताउन सकेनन्। कर्णालीको दिएको ११५ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनायो।

ओपनर साहले ४२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए। उनी अन्तिम ओभरको पहिलो बलमा आउट भए। यस्तै रोहन बिकेले १० रन जोडेका थिए।

राकेश कामथले अन्तिम २ बलमा लगातार छक्का प्रहार गर्दै अन्तिम ओभरमा १४ रन जोडेका थिए। कामथले ८ बलमा अविजित १९ रन बनाएका थिए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्णालीका लागि दिनेश अधिकारीले ३, दिवान पुन र कप्तान रविन्द्र शाहीले २/२ तथा अनुज चुनारा र प्रकाशी जैसीले समान १ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो। कर्णालीका ओपनर विपिल रावलले सर्वाधिक २४ रन बनाएका थिए। यस्तै प्रकाश जैशीले १९ र दिनेश अधिकारीले १५ रन जोडेका थिए। कप्तान रविन्द्रले १० रन बनाए।

मधेशका आदिल आलमले ४ ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिएका थिए। हरि शंकर साहले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिएका थिए।

पहिलो जितपछि कर्णालीले ४ खेलबाट ४ अंक जोडेर समूह ए मा तेस्रो स्थानमा उक्लेको छ। यसअघि वर्षाका कारण त्रिभुवन आर्मी र लुम्बिनीसँगको खेल रद्द भएपछि अंक बाँडेको कर्णाली नेपाल पुलिससँग पराजित भएको थियो। कर्णालीले गण्डकीसँग खेल्न बाँकी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×