गुल्मी पश्चिमको सिमलटारीदेखि तम्घास, पाल्पा र बुटवलदेखि सुनौलीसम्म विद्युतीय गाडी सञ्चालनमा आएको छ । गुल्मीमा मैत्री यातायात प्रा.लिले विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो ।
बिहीवार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले मैत्री यातायात सेवाको शुभारम्भ गरेका छन् । अहिले १० वटा माइक्रोबस सञ्चालनमा आएका छन् ।
मैत्री यातायातका सञ्चालक तिलाचन पाण्डेयले तम्घासदेखि बुटवलसम्मको भाडा प्रतिव्यक्ति ५ सय ६५ रुपैयाँ रहेको जानकारी दिए । १४ जनाको सिट क्षमता, वाइफाई, सिसिटिभी र जिपिएस सुविधा रहेको पाण्डेयको भनाई छ ।
मैत्री यातायातमा डिजेल गाडीको तुलनामा २५ प्रतिशत भाडा कम छ । कम्पनीले तम्घास र रिडीमा चार्जिङ स्टेसन निर्माण गरेको छ । प्रधान कार्यालय मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय तम्घासमा छ ।
त्यस्तै गुल्मी तम्घासबाटै आँगन सेवा यातायात प्रालिले पनि निकट भविष्यमा १५ वटा विद्युतीय गाडी सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीका सञ्चालक किरण कुँवरका अनुसार गाडीहरू बुकिङ भइसकेकाले छिट्टै सेवा प्रारम्भ हुनेछ ।