कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना आज हुँदैछ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केहीबेरपछि सहमहामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको छ। कांग्रेसका महामन्त्री पदको आठ क्लस्टरमध्ये तीनको बिहीबार मतपरिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना हुन लागेको हो। कांग्रेस सहमहामन्त्रीमा आठजना निर्वाचित हुने व्यवस्था छ। महिला, दलित र आदिवासी जनताति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणामअनुसार महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका थिए। सहमहामन्त्री पदका बाँकी पाँच क्लस्टरमध्ये अब खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्लस्टरको मतगणना हुनेछ।

खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेसी क्लस्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन्। थारु क्लस्टरको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा छन्। त्यसैगरी, पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।

त्यस्तै, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत अब सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना बाँकी छ। कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×