काठमाडौँ - राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध आज मुद्दा दायर गरिएको हो।
केही समय पहिले प्रहरीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको रु ६९ लाख ९९ हजार बराबरको रकम पक्राउ गरेको थियो। उनले पैसाको स्रोत खुलाउन सकेका थिएनन्। सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो।
विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो।