पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद नीति निर्माणका लागि पहल सुरु गर्ने बताएका छन्।
प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा आयोजित तीन महिने सहायक प्रशिक्षक प्रशिक्षण तालिमको आज उद्घाटन गर्दै उनले प्रशिक्षणले खेलाडीको मनोवल उच्च राख्ने विश्वास व्यक्त गरे ।
उनले जसरी हामीले प्रदेशको स्वास्थ्य र शिक्षालाई प्रभावकारी बनाउन नीति बनायौँ त्यसरी नै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन खेलकुद नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशको खेलकुद विकासलाई अघि बढाउन सरकारसँग भएको स्रोत र साधनको समुचित उपयोग गर्दै अघि बढने विश्वास व्यक्त गर्दै उनले उच्चस्तरको समिति गठन गरेर प्रदेशभित्रका जग्गाको खोजी गरिने जानकारी दिए ।
प्रदेशको हिमाली, पहाडी र तराईमा कुन खेल कहाँ गर्ने भन्ने विषयमासमेत अध्ययन गरिने बताउँदै उनले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना हुनु प्रदेशका लागि गौरवको विषय रहने विश्वास व्यक्त गरे ।
यूवा तथा खेलकुद मन्त्रालयका सचिव धु्रव गैडाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालय गम्भिर भएर अघि बढ्ेको बताउँदै खेलकुदको विकासको लागि सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले प्रदेशको खेलकुद विकास र खेलाडीको भविष्यका लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्नुपर्ने समय आएको बताउँदै प्रदेशमा आवश्यक खेलकुद पूर्वाधारको निर्माणमा पहल गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा खेल विज्ञ डा प्रकाश प्रधान र डा पदम खडकाले समग्र सामाजिक परिवर्तन र आर्थिकरुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने बताए ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले मुलुकको समृद्धिका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिँदै दिगो विकास लक्ष्य हासिल गर्न खेलकुदको महत्व अझै बढेर गएको धारणा राखे । प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको उक्त तीन महिने सहायक प्रशिक्षण तालिममा नौ जिल्लाका ९३ प्रशिक्षकको सहभागिता रहेको छ ।
तालिममा खेल विज्ञ डा प्रकाश प्रधान, प्रा डा रामकृष्ण महर्जन, डा पदम खड्का, डा. खडग सिंह गुरुङ, पार्थ सारथी सेन गुप्ता, इन्द्र गुरुङ, रीता प्रजापती, आशिष आचार्य, दिवाकरलाल अमात्य, मधुसुदन सवेदी, सुलोचना सिजाख्वा, डा मनिषकुमार साह र प्रा पशुपती अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतमले खेलकूदको महत्व एवम् आवश्यकता माथि चर्चा गर्दै यसको विकासमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।