मुसेवालाकै हालत बनाइदिने धम्कीपछि सलमानको सुरक्षा बढाइयो

काठमाडौँ - पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यापछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ। मुसेवालाको हत्यामा लरेन्स बिस्नोइ ग्याङलाई जिम्मेवार मानिएको छ।

साथै, सलमानलाई पनि उक्त घटनापछि सुरक्षा जोखिम बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ खबरका अनुसार सलमानका पिता सलिमले छोरालाई ज्यान मार्ने धम्की आएको एक पत्र फेला पारेका छन्। मर्निङ वाकमा निस्कने क्रममा उनले घरबाहिर भेटाएको पत्रमा सलमानलाई मुसेवालाकै जस्तो हालत बनाइदिने चेतावनी दिइएको छ। समाचार एजेन्सी एएनआईका अनुसार उक्त पत्रपछि नाम नखुलेको एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरिएको छ।

हाल धम्की कसले दियो भन्नेबारे मुम्बई प्रहरीले अनुसन्धान थालिसकेको छ। प्रहरीका अनुसार सलमान मात्र होइन, पिता सलिमलाई समेत उक्त पत्रमार्फत ज्यान मार्ने धम्की दिइएको छ। सलिमले यसबारे प्रहरीलाई बयान दिइसकेका छन्।

सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ छायांकनको क्रममा भएको कालो हरिण शिकारको घटनामा संलग्न भनिएका सलमानलाई त्यतिबेला पनि लरेन्स बिस्नोइ ग्याङले मार्ने धम्की दिएको थियो। सिद्धू मुसेवालाको हत्या घटनामा पनि अहिले तिहाड जेलमा रहेका लरेन्स बिस्नोइमाथि सोधपुछ भइरहेको छ।

सलमान आइतबार मात्र भारत फर्किएका हुन्। उनी आईफा अवार्डका लागि दुबईमा थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×