काठमाडौँ - जनप्रतिनिधि आएको चार वर्षपछि बैतडीको शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ।
हालसम्म प्रशासकीय भवन नहुँदा भाडामा भवन लिएर सञ्चालन गरिएको थियो। भवन निर्माणसँगै त्यहीबाटै सेवासमेत सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिए। गाउँपालिकाकै रु. दुई करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो। आर्थिक वर्ष २०७५-०७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि उक्त रकम विनियोजन गरिएको थियो। नवनिर्मित दुईतले भवनमा सभाकक्षसहित १६ कोठा छन्। भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिएका छन्। उनले भने, “यसअघि भाडामा रहेको भवनबाट सेवा प्रवाह गर्दा असहज हुन्थ्यो, अब सहज भएको छ ।”
विसं २०७६ मा ठेक्कामार्फत भवन निर्माण सुरु गरिए पनि कोरोना सङ्क्रमणका कारणले केही ढिलाइ भएको थियो।