काठमाडौँ - दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन्। बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेको समाचारमा जनाइएको छ।
नोभा काखोव्का बाँध स्थानीय समय अनुसार, सोमबार बिहान भत्किएको समाचारमा उल्लेख छ। बाढीका कारण हजारौँ घर डुबानमा परेको स्थानीय अधिकारीले बताएका छन्। उक्त बाँध भत्किएपछि करिब ८० वटा सहर र गाउँ डुबानमा पर्न सक्ने अनुमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन्।
युक्रेनी राष्ट्रपतिले बाँध भत्किनुको दोष रुसमाथि थोपरेका छन्। बाँध भत्किएपछि त्यहाँबाट निस्किएको पानी डिनिप्रो नदीमा मिसिएको बताइएको छ। त्यसैले राष्ट्रपति जेलेन्स्कीले नदी आसपास रहेका सहर र गाउँका नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।
रुसले भने बाँध भत्किनुको पछाडि रुसको कुनै हात नरहेको दाबी गरेको छ। बाँध भत्किएपछि आएको बाढीका कारण थुप्रै गाउँ जलमग्न भएका छन्। तल्लो क्षेत्रमा बसोबास गर्ने हजारौँ नागरिक आफ्नो ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका छन्।
स्थानीय प्रशासनले खेरसान नजिकै रहेको मिकोलाइव क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने तयारी गरिरहेको समाचारमा जनाइएको छ। बाढी प्रभावितका लागि आवास, खाना र लत्ताकपडाको पनि व्यवस्था गरिँदै छ।