काठमाडौँ - नेपाली गोलकिपर किरण चेम्जोङ भारतको आई लिग क्लब राउन्डग्लास पन्जावमा एक सिजनको लागि अनुबन्धित भएका छन्। माल्दिभ्समा माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनबाट धिवेही प्रिमियर लिग र एफए कपको उपाधि जितेलगत्तै उनले आई लिग खेल्ने निश्चित गरेका हुन्।
माल्दिभ्सबाट मंगलबार स्वदेश फर्किएका किरणले भने, ‘पहिला पनि २ पटक पन्जाव फुटबल क्ल्बबाट आई लिग खेलिसकेको छु। आउने सिजन आई लिग च्याम्पियनले आईएसएल (इन्डियन प्रिमियर लिग) मा बढुवा हुने रहेछ। पन्जावको लक्ष्य यही हो। माल्दिभ्समा प्रतियोगिता सकेलगत्तै राम्रो प्रस्ताव आएपछि पन्जावबाट ९ महिना (एक सिजन) खेल्ने पक्का गरे। त्यसको लागि सेप्टेम्बरमा भारत जाने छु।’
विवाहको तयारीमा रहेका ३२ वर्षीय उनले यसअघि ‘दोस्रो हाफ’मा मात्रै पुगेर पनि २०१७-१८ को सिजन पन्जावबाट आई लिग जितेका थिए। त्यही सिजन उनी टीसी स्पोर्ट्ससँग माल्दिभ्सको प्रिमियर लिग च्याम्पियन भएका थिए। यसपाली त्यो उपाधि माजियाबाट दोहोर्याएका छन्।
माल्दिभ्समा लिग जित्दा २ पल्टै लिगकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका उनी आई लिगमा पनि सिजनकै उत्कृष्ट गोलकिपर भइसकेका छन्। उनी माजियाले क्लब भ्यालेन्सियालाई २-० ले हराएर तेस्रोपल्ट एफए कप जितेको भोलिपल्टै स्वदेश फर्किएका हुन्।
नेपाली राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेलेका किरण कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्ध असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि बोलाइएका ४० जनाको सूचीमा रहेका छन्।
बन्द प्रशिक्षणमा ‘होटलमा बस्न माग गरेका’ रोहित चन्दसहितका खेलाडीहरूलाई साथ दिएका उनलाई कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत जेठमा सम्पन्न एसियन कप २०२३ छनोट (तेस्रो चरण) को टिमबाटै हटाइदिएका थिए। त्यसअघि उनी राष्ट्रिय टिमका नियमित कप्तान थिए।