काठमाडौँ - अंशु फातीले आफ्नो वर्तमान र भविष्य सबै बार्सिलोनामै रहेको प्रष्ट पारेका छन्। फाती पीएसजीजस्ता अन्य टिमसँग कुराकानीमा रहेको अफवाहका बीच उनले बार्सिलोना बाहेक अन्य टिमबारे नसोचेको बताएका हुन्।
क्यानल प्लससँगको अन्तर्वार्ताका क्रममा फातीले लिग १ च्याम्पियनसँग सम्झौतानजिक पुगेको हल्लालाई निराधार भनेका छन्। ‘के पीएसजी मलाई अनुबन्ध गर्न चाहन्छ? मलाई यसबारे वास्तवमै थाहा छैन। यो कुरा मेरो एजेन्ट र अभिभावकलाई मात्र थाहा हुन्छ,’ फातीले भनेका छन्, ‘सुरुदेखि नै मैले एजेन्ट र मेरो बुबालाई आफ्नो उद्देश्यबारे प्रष्ट पारको छु। म अहिले पनि स्पष्ट छु। मेरो सम्पूर्ण करिअर नै यहीँ हुनसक्छ।’
चोटका कारण दुई वर्षको अन्तरालमा पहिलोपल्ट फातीले स्पेनिस राष्ट्रिय टोलीका लागि सोमबारदेखि अभ्यास सुरु गरेका छन्। फातीले बार्सिलोनाको त्यस प्रस्तावलाई बिर्सिएका छैनन्, जब उनलाई लियोनल मेस्सीको १० नम्बर जर्सीको प्रदान गरिएको थियो।
‘मलाई क्लबले बोलाएर यो प्रस्ताव राखेको हो। उनीहरु १० नम्बरको जर्सी मलाई दिँदैछन्। क्लबले मलाई कप्तानले पनि स्वीकार गरिसकेका छन् र यो मेरा लागि गर्वको कुरा हो ,’ फातीले भने।
चोटग्रस्त हुनु हरेक खेलाडीका लागि कठिन परीक्षा हो। यो फाती पनि स्वीकार गर्छन्। ‘चोटले मलाई पनि कठिन स्थितिमा धकेल्यो। यो खेलाडीका लागि सबैभन्दा खराव कुरा हो,’ उनले भने।