काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) ले अनुसन्धानमा सहयोग गर्ने भएको छ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रहरीको अनुसन्धानमा क्यानले सबैखाले सहयोग गर्ने बताएका छन्। ‘लामिछानेलाई गम्भीर आरोप लागेको छ। खेलाडीको बारेमा संवेदनशील विषय आएको छ। प्रहरीको अनुसन्धानमा क्यानले हरेक कोणबाट सहयोग गर्छ,’ मल्लले भने।
उनले लामिछानेको बारेमा थप निर्णय कार्य सम्पादनको बैठक बसेर लिने जानकारी गराएका छन्।
लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्तीकरणीको आरोपमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ। पीडित भनिएको १७ वर्षीया नाबालिकाकी दिदीले प्रहरी बृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ।