काठमाडौँ - पाकिस्तानी गायक अबरार उल हकले करण जोहरले आफ्नो आगामी भारतीय चलचित्र ‘जुगजुग जियो’ मा आफ्नो गीत ‘नाच पञ्चाबन’ गैरकानूनी रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। अनिल कपुर, नीतु कपूर, वरुण धावन र कियारा अडवाणी अभिनित नयाँ फिल्म ‘जुग्जग जीयो’ ले आफ्नो गीत कपी गरेको खुलाएका हुन्।
अबरारले सामाजिक सञ्जालमार्फत आफ्नो गीतको राइट्स कुनै पनि भारतीय चलचित्र वा निर्मातालाई बिक्री नगरेको बताएका छन्। आफ्नो गीतको अवैध प्रयोग गरेमा कानुनी कारबाही गर्ने धम्की समेत दिएका छन्।
अबरार उल हकले आफ्नो ट्विटरमार्फत दुई वटा कुरा बताएका छन्। पहिलो, ‘मैले मेरो गीत ‘नाच पञ्जाबन’ कुनै पनि भारतीय चलचित्रलाई बेचेको छैन र क्षतिपूर्तिको लागि अदालत जाने अधिकार सुरक्षित राखेको छु। करण जोहर जस्ता निर्माताहरूले प्रतिलिपि गीतहरू प्रयोग गर्नु हुँदैन। यो मेरो छैटौँ गीत नक्कल गरिँदै छ जसलाई कुनै हालतमा पनि अनुमति दिइने छैन।’
उनले अर्को ट्विटमा लेखेका छन्, ‘नाच पञ्जाबन गीतको कसैलाई पनि लाइसेन्स दिइएको छैन। यदि कसैले दाबी गरिरहेको छ भने सम्झौता पेस गर्नुहोस्। कानुनी कारबाही गर्छु।’