काठमाडौँ - स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्रजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ।
सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन्। यसअघि पहिलो मैत्रीपूर्ण खेलमा ब्राजिलले एसियाली राष्ट्र दक्षिण कोरियालाई ५–१ ले पराजित गरेको थियो।
जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन। यी दुई टिमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो।
अन्य मैत्रिपूर्ण खेलमा अमेरिका र उरुग्वे तथा मेक्सिको र इक्वेडरले गोलरहित बराबरी खेलेका छन्।