अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि १ हजार खेलाडीले गरे नाम दर्ता

पोखरा - पोखरामा यही असोज ६ गतेदेखि ९ गतेसम्म माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदैछ।

हालसम्म १ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका आयोजकले जनाएको छ। प्रतियोगितामा क्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सयभन्दा बढीले आफ्नो नाम टिपाएका गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिएका छन्।

दक्षिण एसियामा नै पहिलोपटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न लागिएको हो। प्रतियोगितामा १ दर्जनभन्दा बढी देशका खेलाडीले सहभागिको दर्ता गराइसकेको उनले बताएका छन्।

‘१ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौँ। यसले कोभिडका कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुग्छ,’ उनले भने, ‘जतिसक्दो धेरै खेलाडी सहभागी गराउने प्रयास गरेका छौँ।’

प्रतियोगितामा विश्वभरका खेलाडी, निर्णायक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीसहित २ हजारभन्दा बढीको उपस्थिति रहने बताइएको छ। सोही प्रतियोगिता यसअघि काठमाडौंमा आयोजना गरिएको थियो।

प्रतियोगितामा सिनियर र जुनियरतर्फको क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समूहमा कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य एवं ओलम्पियन दीपक विष्टले जानकारी दिएका छन्।

विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता स्वीकृति प्रदान गरेको आयोजकले जनाएको छ। प्रतियोगिता पूरा गर्न २ करोड ५५ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×