काठमाडौँ- मण्डला थिएटरले आयोजना गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा २२ देशका ८४ वटा नाटक प्राप्त भएका छन्। महोत्सव संयोजक विजया कार्कीका अनुसार प्राप्त नाटकमध्येबाट अन्तिम सूची बनाउने काम भइरहेको छ।
नेपालबाट मात्रै १८ वटा नाटक प्राप्त भएका छन्। अमेरिका, रुस, जापान, इटाली, स्पेन, इजिप्ट, नाइजेरिया, श्रीलंका, बंगलादेश, पाकिस्तान, पोल्यान्ड लगायतका मुलुकबाट नाटक आएका हुन्।
‘सूचीलाई अन्तिम रुप दिन हामीले प्राविधिक टिमबाट कम्फर्मेसन कुरिरहेका छौं,’ कार्कीले भनिन्। थापागाउँस्थित मण्डलाका दुईवटै नाटकघरमा नाटक मञ्चन हुने जनाइएको छ। फेस्टिभलका लागि विशेष अतिथि सरकारी पहलमा भारतबाट ल्याउने तयारी भइरहेको कार्कीले बताएकी छिन्।
नोभेम्बर २५ देखि डिसेम्बर २ सम्म हुने फेस्टिभलको दोस्रो संस्करण हुन लागेको हो। यसअघि कोरोना महामारीका कारण फेस्टिभल आयोजनामा ढिलाइ भइरहेको थियो। यसपटक महोत्सवको थिम ‘थिएटर फर सोसल ट्रान्सफर्मेसन : सेलिब्रेटिङ डाइभर्सिटी’ राखिएको छ।