काठमाडौँ । आज आइतबार स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरूद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै आज अधिवक्ता ध्रुव श्रेष्ठले बारले लुकाइरहेका सम्पूर्ण विकृतिहरू पर्दाफास गरेका छन्।
वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायालयको भ्रष्टाचारविरुद्ध आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउँदै त्यसमा बारले लुकाइरहेको भ्रष्टाचारविरुद्ध पनि कारबाही हुने चेतावनी दिएका हुन्। उनले बारतर्फ इशारा गर्दै भनेका छन्, 'हामी सबै आउँछौँ तपाईंहरूको साथमा तर, असलमा जे बाहिर आउनुपर्ने कुराहरू थिए, तिनलाई तपाईंहरू लुकाइरहनुभएको छ। किन?
अधिवक्ता श्रेष्ठले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले नै प्रतिवेदन तयार पारेको तथ्यमाथि समेत प्रश्न उठाएका छन्। श्रेष्ठले भोलिका भावी प्रधानन्यायाधीशले आजैदेखि आफ्नो हुकुम लाद्न खोज्नु अदालतभित्र सिन्डिकेट भित्र्याउन खोज्नु भन्ने बुझिने आरोप लगाएका छन्। साथै, त्यति मात्रै नभएर श्रेष्ठका अनुसार नैतिकताका आधारमा समेत न्यायाधीश कार्कीले प्रतिवेदन तयार पार्नु उचित होइन। के कारण उचित होइन भन्नेबारे उनले भनेका छन्, 'हिजो नेपाल बारजस्तो बौद्धिक निकायको अध्यक्ष भइरहँदा..' उनले बीचमा उदाहरण दिए, 'बुझ्नुस् है, नेपाल बारको अध्यक्ष भनेको प्रधानन्यायाधीश जत्तिकै हैसियत र जिम्मेवारी भएको मान्छे हो। विदेशी मुलुकमै पनि तपाईंले हेर्नुभयो भने बारको अध्यक्षको महत्व कति हुन्छ त्यहाँ पनि भन्ने स्पष्ट हुन्छ' उनी पुनः आफ्नो तर्कमै फर्किए, 'अनि, त्यस्तो जिम्मेवारी लिएर हिँडेको मान्छे, बारजस्तो न्यायिक बौद्धिक निकायको अध्यक्ष हुँदाहुँदै वहाँले हेर्नुस् है के गर्नुभयो! कार्यकाल पूरा नहुँदै सरकारको महान्यायाधिवक्ता हुनका लागि छोडेर हिँड्दिनुभयो! नैतिकता कहाँ गयो?'
भोलिका भावी प्रधानन्यायाधीश अर्थात् हाल वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले नैतिकताका आधारमा समेत प्रतिवेदन ल्याउन उचित हुँदैन भन्ने अधिवक्ता श्रेष्ठको ठहर छ। उनले अगाडि थपे, 'हेर्नुस् है, वहाँले त्यसरी बारको अध्यक्षको कार्यकाल पूरा नगरी सरकारको महान्यायाधिवक्ता बन्नका लागि छोडेर हिँडिदिनुभयो। र त्यसपछि पनि वहाँले अर्को कुरा के गर्नुभयो भने, सरकारको महान्यायाधिवक्ता भएर राजनीतिक वकालत गर्दै हिँडिसकेपछि वहाँ सर्वोच्च अदालतभित्र न्यायाधीश बनेर छिर्नुभयो! अनि, तपाईंहरू आफै भन्नुस् अब म केही भन्दिनँ। नैतिकताको यत्रो पहाडहरू भत्काउँदै हिँडेको मान्छेले अनि अदालतमा भोलि प्रधानन्यायाधीश हुने पालो त आउँदैछ नै तर, आजैदेखि प्रतिवेदन ल्याइरहनुभएको छ। त्यो पनि वहाँलाई नैतिकताले नै नदिने हो।'
वरिष्ठ अधिवक्ता श्रेष्ठले यस्तो विकृति सुधार हुनुपर्यो है भन्नका लागि एउटा निष्ठावान चरित्र भएको मान्छेलाई मात्र सुहाउने धारणा व्यक्त गरेका छन्। श्रेष्ठले प्रधान्यायाधीशजस्तो पदमा त अझै योग्यताभन्दा अगाडि चरित्र हेरिनुपर्नेमा उनले जोड दिए। उनले भने, 'चरित्र नै खराब छ भने उसले न्याय कसरी गर्नसक्छ? योग्यता मात्रले यो क्षेत्रमा पुग्दै पुग्दैन। प्रधानन्यायाधीश, न्यायाधीश भनेको त निष्ठा भएको नैतिकता भएको चरित्रवान व्यक्तित्व हुनैपर्छ। तर, कार्कीमा ती कुराहरू नदेखिए पनि हिजो सरकारको महान्यायाधिवक्ता भएर राजनीतिक वकालत गरिसेकका वहाँले आजदेखि नै सर्वोच्च अदालतभित्र सिन्डिकेट भित्र्याउने प्रयास गर्नुभएको छ, त्यो गलत छ।'
न्यायाधीश कार्कीको नैतिकतामाथि बोलिरहँदा अधिवक्ता श्रेष्ठले उनीप्रति आफ्नो व्यक्तिगत दुश्मनी केही नभएको समेत स्पष्ट पारेका छन्। उनले भने, 'वहाँसँग मेरो व्यक्तिगत कुनै रन्जिश छैन। हामी सँगै वकालत गर्दै हिँडेका साथी नै हौँ। तर, जब सिद्धान्त र पद्धतिको कुरा आउँछ तब यसरी बोल्नुपर्ने स्थिति आउँछ।'
साथै, अधिवक्ता श्रेष्ठले आफू सधैँ नै थाहा भएको कुरा मात्र बोल्ने र सत्य-तथ्य जुटाउनुपरेको खण्डमा समेत आफू तयार रहेको स्पष्ट पारेका छन्।