काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफर गाल्टियरले क्लबका स्टार खेलाडीहरूलाई एक ढिक्का भएर खेले टिमले ठूलो सफलता हात पार्ने बताएका छन्।
टिमका नयाँ प्रशिक्षक गाल्टियरले टिम स्पिरिट अर्थात ‘टोलीको भावना’ एक खेलाडीबाट अर्कोमा सर्ने बताउँदै यस सिजनमा कायलियन एम्बप्पे, नेयमार र लियोनल मेस्सीबाट उत्कृष्ट प्रदर्शनका लागि टिम एकता नै मुख्य कुरा हुने विश्वास व्यक्त गरेको आईएएनएसले जनाएको छ।
एम्बाप्पे, नेयमार र मेस्सी एउटै क्लबमा हुँदा उनीहरूले फ्रेन्च क्लब तथा युरोपियन फुटबललाई अर्को स्तरमा लिएर जाने अपेक्षा गरिएको थियो। तर नाइसको प्रशिक्षक हुँदा गाल्टियरले भने उनीहरुलाई नजिकबाट चिन्ने अवसर पाएका थिएनन्।
एम्बाप्पे, नेयमार र मेस्सी जस्ता स्टार खेलाडी एउटै टिममा बिरलै हुने सम्भावना रहन्छ र यस सिजनमा उनीहरुले अघिल्लो सिजन भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। गत सिजनको फ्रेन्च लिग वानमा एम्बाप्पेले ३५ खेलमा २८ गोल, नेयमारले २२ खेलमा १३ गोल तथा मेस्सीले २६ खेलमा केवल ६ गोल गरेका थिए।
यस सिजनको लिगको पहिलो खेलमा पीएसजीले शनिबार क्लेरमोन्टविरुद्ध खेल्दा ३ जना नै टिममा रहने अपेक्षा गरिएको छ। उनले विपक्षीले टिमको खेल्ने शैलीमा असर नपार्ने हिसाबले अघि बढ्ने तथा टिम र खेलाडीको प्राथमिकता पनि सोही हिसाबले निर्धारण गरिएको जनाएका छन्।