कांग्रेसकाे निर्वाचन प्रचार गर्ने अर्थविहीन पूरानै शैली

काठमाडाैं । नेपाली कांग्रेस देशको जेठो पार्टी हो । विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेको कांग्रेसले आफूलाई फेर्न सकेको छैन । १४औं महाधिवेशन स्थल भृकुटीमण्डप पुग्दा यस्तै भान हुन्छ । ‘अमूल्य मत दिएर मलाई जिताउनुस्’ लेखिएको ब्यानर यत्रतत्र झुण्ड्याइएको छ । जसले महाधिवेशनस्थल कुरूप बनाएको छ । 

उम्मेदवारमा प्रचार सामग्री झुण्ड्याउने होडबाजी चलेको छ । कोही रहरले त कोही बाध्यताले प्रचारमा उत्रिएका छन् । सभागृहदेखि पद्मोदय क्याम्पससम्मका सडक किनार चुनावी प्रचार सामग्रीले भरिभराउ छ ।

कांग्रेसले मञ्च व्यवस्थान र स्वागतद्वार निर्माणमै ४० लाख खर्चेको छ। 
सडक छेकेर स्क्रिन बोर्ड राखेका छन् । जसले यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ । महाधिवेशन स्थलमा भेटिएका सुनसरीका भोजराज घिमिरे भन्छन्, ‘कांग्रेस मात्रै होइन, नेपालका सबै राजनीतिक दल पुरानाशैलीमा छन् । जस्तो प्रचारशैली अपनाएर कांग्रेसले महाधिवेशन गर्दैछ त्यो २०–२५ वर्ष अघिकै हो । विश्व कहाँ पुगिसक्यो । विदेशीहरू आजभन्दा ५०–६० वर्षअघि नै डिजिटलको बाटोमा गइसके । उनीहरू आफ्ना भनाइ सामाजिक सञ्जालमा राख्छन् ।’ 

कांग्रेस अधिवेशन मंसिर २४–२७ गतेसम्म छ । देशभरबाट आएका प्रतिनिधिले भृकुटीमण्डप भरिभराउ हुन थालेको छ । पुतलीसडक, रत्नपार्क क्षेत्रमा ट्राफिक व्यवस्थापन भद्रगोल बनेको छ ।

नयाँ व्यवस्था ल्याए पनि दल आफैं भने परिवर्तन हुन सकेका छैनन् । ‘राजनीतिक परिवर्तन गरे तर उनीहरू ढुंगे युगको व्यवहार गरिरहेका छन्,’ घिमिरेले भने । जब पार्टीहरू महाधिवेशन वा आमसभा गर्छन् त्यसको मारमा व्यवसायीमा पर्छ । उनीहरूसँग लिएको चन्दा नेताहरू फोहोर उत्पादन गर्न खर्च गरिरहेको सर्वसाधारण बताउँछन् ।

स्याङ्जाका युवराज पौडेल महाधिवेशन स्थलमा प्रचार सामग्री हेरिरहेको भेटिए । यस्तो प्रचारशैलीको विकल्प खोज्नुपर्ने उनको भनाइ छ । ‘पुराना परिपाटीलाई बदल्न कुनै पनि राजनीतिक दलले एजेन्डा नै बनाएनन्,’ उनले भने, ‘अनलाइन प्रविधि, म्यासेज, सामाजिक सञ्जालबाट प्रचार गर्ने विकल्प छ । अरूले जे गर्यो मैले पनि गर्नुपर्छ भन्ने होडबाजीमा नेताहरू शक्ति प्रदर्शन गरिरहेका छन् । जसको कुनै अर्थ छैन ।’ 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×