काठमाडौं - प्रशिक्षक राल्फ राङ्कनिकको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले सोमबार राति घरेलु मैदानमा अन्तिम खेल खेल्यो। त्यसमा युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–० को विजय हासिल गर्यो।
युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो। ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा युनाइटेडको अग्रता दोब्बर बनाएका थिए। त्यसअघि, ४४औँ मिनेटमा रोनाल्डोले गरेको गोल अफसाइड भएको थियो।
७२औँ मिनेटमा राफेल भरानेले अर्को गोल थपेपछि युनाइटेडले तीन अंक पक्का गरेको हो।
जितसँगै युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ३६ खेलबाट ५८ अंक जोडेको छ। युनाइटेड छैटौँ स्थानमा छ। त्यो चौथो स्थानको अर्सनलभन्दा पाँच अंकले पछाडि हो भने पाँचौँ स्थानको टोटनहमभन्दा तीन अंकले पछाडि हो। ब्रेन्टफोर्ड ४० अंकसहित १४औँ स्थानमा छ।