काठमडाैँ -श्रीलंकाले दोस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई तीन ओभरमै १० विकेटले पराजित गरेको छ। अन्तिम दिन जितको लागि २९ रनको विजयी लक्ष्य पाएको श्रीलंकाले तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। यो सँगै दुई टेस्ट खेलको सिरिज श्रीलंकाले १–० ले जितेको छ।
शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले श्रृखंला आफ्नो कब्जामा पारेका हो। पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो।
दोस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन बंगलादेशको दोस्रो इनिङ १६९ रनमा सीमित भएपछि श्रीलंकाले जितका लागि मात्र २९ रनको लक्ष्य पाएको थियो। श्रीलंकाका ओपनर ओसादा फर्नान्डोले ९ बलमा ३ चौका र एक छक्का मद्दतमा अविजित २१ रन जोड्दा कप्तान दिमुथ करुणारत्नेले ९ बलमा १ चौकासहित अविजित ७ रन बनाएका थिए।
यसअघि ३४–४ बाट अन्तिम दिनको खेल सुरु गरेको बंगलादेशको दोस्रो इनिङ १६९ रनमा सीमित भएको थियो। बंगलादेशले १३५ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो। बंगलादेशका लिटन दासले ५२ तथा साकिब अल हसनले ५८ रन जोडेका थिए। श्रीलंकाका आशिथाले १७ ओभर ३ बलमा ५१ रन खर्चेर ६ विकेट लिँदा कसुन राजिथाले २ तथा रामेश मेन्डिसले १ विकेट लिएका थिए।
यसअघि बंगलादेश पहिलो इनिङमा ३६५ रनमा सीमित भयाे। श्रीलंकाले एन्जेलो म्याथ्युजको १४५ र दिनेश चन्डिमलको १२४ रन मद्दतमा ५०६ रनको योगफल तयार पारेको थियो। श्रीलंकाले पहिलो इनिङमा बंगलादेशमाथि १४१ रनको अग्रता लिएको थियो। श्रीलंका पछि अब, बंगलादेशले वेष्ट इन्डिजविरुद्ध दुई टेष्ट, तीन टी–२० र तीन एकदिवसीय श्रृखंला खेल्ने भएकाे छ। यता, श्रीलंकाले अष्ट्रेलियासँग टी–२० र ओडीआई श्रृंखला खेल्ने भएकाे छ।