काठमाडौँ - दक्षिण भारतीय अभिनेता विजय देवराकोन्डा र अभिनेत्री सामन्था रुथ प्रभु आगामी फिल्म ‘कुशी’को छायांकनको क्रममा घाइते भएको खबर बाहिरिएको छ।
तर निर्माण टोलीले मंगलबार एक विज्ञप्ति जारी गर्दै विजय र सामन्था घाइते भएको खबरमा कुनै सत्यता नभएको बताएका छन्। उक्त विज्ञप्तिमा कश्मीरमा ३० दिनको छायांकन सकेर हैदरावाद फर्किएको जानकारी गराइएको छ।
केही मिडिया रिपोर्टले विजय र सामन्थालाई कुशीको छायांकनको क्रममा घाइते भएको बताएका थिए। सामन्था र विजय कश्मीरको पहलगाममा एक स्टन्टको छायांकन गरिरहेका थिए। उक्त स्टन्ट निकै कठिन थियो। स्टन्ट गर्दा गर्दै विजय र सामन्था घाइते भए। उनीहरू लिद्दर नदीको दुई किनारामा बाँधिएको डोरीमा हिड्ने क्रममा लडेको र केही समय आराम गर्दा पनि फिल्मको छायांकनमा सामेल हुन नसकेको भनेर भ्रामक खबर बताएका थिए।
तर यसमा सत्यता छैन। कश्मीरमा ३० दिन छायांकन सकाएर हाम्रो पुरै निर्माण टोली हैदराबाट फर्किसकेका छौं। तपाईहरु भ्रामिक खबरमा विश्वास नगर्नू होला,' निर्माता बीए राजूले ट्वीटमा लेखेका छन्।
२०१८ मा प्रदर्शन भएको फिल्म ‘महानती’ पछि विजय र सामन्था ‘कुशी’मा एकसाथ देखिँदैछन्। यो फिल्म डिसेम्बर २३ बाट तेलुगु, तमिल, कन्नड र मलयालम गरी चार भाषामा प्रदर्शन हुने भएको छ।